सोमपाल कामी , क्या दामी ।
मान्छे भुईंबाट शिखरमा पुग्न समय लाग्दैन । लगन, मेहनत र दृढता हुनुपर्छ– मान्छे रातारात ‘स्टार’ बन्छ ।
सोमपाल कामी त्यस्तै ‘स्टार’ हुन्, जो शिखरमा पुगिसकेका त छैनन् तर पुग्छन् एकदिन ।
दुई वर्षअघिसम्म साधारण सोमपाल विश्वकप क्रिकेट खेल्छन् भनेर न उनले चिताएका थिए, न अरुले नै । भलै, उनले यही सपना देखेर आफ्नो करिअर थालेका थिए । यति छिटै खेल्न पाउने सपना त उनी आफैंले देखेका थिएनन् । विश्वकप खेल्ने अन्तर्राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि उनलाई फिटिक्कै थिएन । तर, भए ।
‘पृथ्वी गोलो छ, सबैको दिन आउँछ’ भनेर सम्भवतः सोमपालजस्तै स्वप्नजीवीका लागि भनिएको होला ! यी वायाँ हाते पेस बलर विश्वकपमा खेलिरहँदा नेपालमा नारा लागिसकेको थियो– सोमपाल कामी, क्या दामी !
उनी दामी छन् । उनको करिअर अहिले दामी मोडमा छ ।
“मलाई थाहा थियो– मेहनत गरेपछि सबैको दिन आउँछ,” भन्छन्, “मैले मेहनत गरें, मलाई मौका आयो । विश्वकप खेल्ने मेरो ड्रिम पूरा भयो ।”
बंगलादेशको विश्वकपमा मैदान छिर्दा पहिलो पटक उनलाई आफू अन्तर्राष्ट्रिय खेलाडी भएको भान भयो । त्यो उनको कहिल्यै बिर्सन नसकिने क्षण थियो । “शायद अब त्यस्तो कुनै अविस्मरणीय क्षण आउँदैन होला, जतिबेला मैले विश्वकपमा डेब्यु गरें,” बाह्रखरीसँग गफिँदै उनले भने ।
बलिङमा दख्खल राख्ने तर अलराउन्डर खुबी भएका सोमपाल बल्ल २० वर्षका भए । कलिलै उमेरमा उनी नेपाली क्रिकेटको अभिन्न अंग बनिसके । उनी नेपाली क्रिकेटसँग जोडिएको दुई वर्षमात्रै भयो । तर, उनले नेपालको सिनियर टोलीबाट आईसीसी टी–२० विश्वकप, विश्वकप छनोट, टी–२० अन्तर्राष्ट्रिय, एसीसी प्रिमियर लिग, एसियन गेम, आईसीसी विश्व लिग डिभिजन–२, आईसीसी विश्वकप लिग डिभिजन–३ र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसके ।
यसबीच उनले नेपाली क्रिकेटमा आएको आरोह–अवरोह राम्रैसँग देखे, भोगे ।
सोमपालले टी–२० अन्तर्राष्ट्रियमा ११ खेल खेल्दा २ पहिलो श्रेणीको क्रिकेट खेलेका छन् । १५ टी–२० र १६ ‘ए’ लिस्टको क्रिकेट पनि खेलिसकेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सोमपाल नेपालको बलिङमा मुख्य हतियार मानिन्छन् । तर, उनी ब्याटिङमा पनि उत्तिकै जम्छन् । टी–२० अन्तर्राष्ट्रियमा १०औं नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि सोमपालले नै बनाएका छन् । ४ मंसिर ०७१ मा श्रीलंका सम्पन्न टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उनले हङकङविरुद्ध ३१ बलमा ४० रन जोड्दै श्रीलंकाली क्रिकेटर प्रदीप निशान्तको ३७ रनको कीर्तिमान तोेडेका थिए ।
सोमपाल १ जनवरी २०१४ मा नेपालको सिनियर राष्ट्रिय टोलीमा आएका हुन् । बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपअन्तर्गत हङकङविरुद्धको खेलमा सोमपालले नेपाली सिनियर टोलीबाट ‘डेब्यु’ गरे । सोमपाल त्यतिबेला १८ वर्षका मात्र थिए र नेपालले पनि पहिलोपटक विश्वकप खेल्दै थियो । त्यसपछि उनले कहिलै पछाडि फर्केर हेर्नु परेको छैन ।
सोमपाल गुल्मीमा जन्मिए तर हुर्किए भारतको पञ्जाबमा । र, क्रिकेट त्यहीँ सिके । पञ्जाबमा क्रिकेट सिकेर नेपाल आएपछि उनी एकाएक चम्किए । त्यसअघि उनलाई भारतमै क्रिकेट खेल्न मन नलागेको होइन । तर, आर्थिक अवस्थाले उनलाई त्यसो गर्न दिएन ।
“भारतमा माथिल्लो स्तरको क्रिकेट खेल्न क्लबमा आबद्ध हुनपर्छ, जहाँ महिनाको १० हजार शुल्क तिर्नुपर्छ,” उनले भने, “तर त्यहाँ मेरो बुबाको मासिक तलब १० हजार थियो । कसरी खेल्नु क्रिकेट ?”
उनले हिम्मत हारेनन् । क्रिकेट खेलिरहे । अन्ततः सफल पनि भए ।
साभार - बाह्रखरी डटकम
http://baahrakhari.com/
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |