क्रिकेटले धानेको वर्ष


काठमाडौं । नेपाली खेल क्षेत्रमा २०७१ सालको नेतृत्व क्रिकेटले ग¥यो । क्रिकेट संघमा विवाद देखिए पनि मैदानमा क्रिकेटले यो वर्ष उत्कृष्ट सफलता पायो । डिभिजन थ्रीको उपाधि र डिभिजन टूमा यथावत् रहनु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सफलता हो । वर्षको अन्तिमतिर चैत २८ गते अष्ट्रेलियाली खेलाडी फिलिप हृयुजलाई श्रद्धाञ्जलि दिन आयोजित नेपाली र अष्ट्रेलियाली खेलाडीबीचको मैत्रीपूर्ण खेलले नेपाल र अष्ट्रेलियाबीच क्रिकेट सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो ।


क्रिकेटपछि सफलता पाएको खेल भलिबल रहृयो । सार्क भलिबल प्रतियोगिता नेपालले सफलतापूर्ण आयोजना ग¥यो भने राष्ट्रिय भलिबल प्रतियोगतामा पनि यसै वर्ष आयोजना गरियो । सबैभन्दा धरै लगानी रहेको फुटबलले भने यस वर्ष पनि निराश पा¥यो । समग्रमा भन्नुपर्दा यो वर्ष खेलकुद क्रिकेटले धान्यो ।

विवाद भए पनि फड्को 
मैदानबाहिर जतिसुकै विवाद भए पनि क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पारेको छ । विवादमा रुमलिएकै बेला मलेसियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जितेर नेपाली क्रिकेटले खुशियाली दिलायो । पहिलो खेलमै युगान्डासँग २० रनले चुकेपछि बर्मुडालाई ८ विकेट, सिंगापुरलाई १९० रन अमेरिकालाई १० रन र मलेसियालाई ३६ रनले हराएर नेपाल डिभिजन टुमा उक्लिएको थियो ।
युगान्डामाथि ६२ रनले बदला लिँदै नेपालले फाइनल जित्यो । नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल चौथो स्थानमा सीमित भयो । चौथो स्थानमा सीमित हुँदै डिभिजन टूमै रहे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई डिभिजन एकको हैसियत दियो । अब नेपालले डिभिजन एकका सबै प्रतियोगिता खेल्न पाउने छ । त्यसैले सन् २०१९ मा इङ्यान्डमा हुने वान डे विश्वकपमा नेपाल छनोटको बाटोमा रहिरहृयो ।
अब नेपाल १० देश सहभागी हुने विश्व च्याम्पियनसिपमा झन्डै दुई वर्ष व्यस्त हुनेछ । त्यसको शीर्ष ६ मा रहेमा नेपालले विश्वकप २०१९ को अन्तिम छनोट खेल्नेछ । यसले नेपाली क्रिकेटलाई फड्को मार्न सघाउने छ । साथै वर्षको अन्तिम समयमा नेपाली क्रिकेट टोली (पुरुष÷महिला) लाई नेपाल टेलिकमले तीन वर्षका लागि मुख्य प्रायोजन गर्दै नेपाली क्रिकेटलाई हौसला प्रदान गरेको छ ।

नेपाली क्रिकेटमा विवादका शृंखलाहरू देखियो । नेपाल क्रिकेट संघ (क्यान) मा धेरै विवाद चल्यो । नेपाली क्रिकेटले पदाधिकारीको विवादलाई चिर्दै विश्व क्रिकेटमा एकपछि अर्काे फड्को मार्दै गयो । सुरुवातमा क्यान भ्रष्टाचारको मुद्दामा रुमलियो । निर्वाचित अध्यक्ष टंक आङबुहाङसहित १० पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु ग¥यो । अख्तियारले  संघका अध्यक्ष टंक अङबुहाङ, उपाध्यक्षहरू चतुरबहादुर चन्द, सुनीलमान अमात्य, विनोद मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव ठाकुर पहाडी, सदस्य किरण राणा, पूर्णबहादुर लामा, ठाकुरप्रताप थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो । उक्त मुद्दा विचाराधीन छ ।

लगत्तै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्यानमा तदर्थः समिति पनि गठन ग¥यो । सर्वोच्च अदालतले नेपाली खेलकुदकै सर्वाधिक पुरानो संघमध्ये एक क्यानमान मन्त्री पौडेलले गठन गरेको समितिलाई तत्काल काम नगर्न आदेश जारी ग¥यो ।
क्रिकेट संघको अस्तित्वलाई लिएर युवा तथा खेलकुद मन्त्री पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाबीच जुहारी नै चल्यो । कार्यक्रममा भाषण दिनेमात्र होइन, यी दुईको झगडा अदालतसम्मै पुगेको थियो । यस्तै विवादले क्यान अहिले कार्यबाहकको भरमा चलेको छ । क्यान कार्यबाहक अध्यक्ष दीपक कोइरालाले चलाइरहेका छन् ।

फुटबलमा निराशा
नेपालमा चर्चित खेलमध्ये फुटबल एक हो । तर, जति नेपालमा यस खेलको चर्चा छ त्यसको ठीक उल्टो नेपाली फुटबल खस्कँदै गयो । नेपाली फुटबल सुरुमै विवादित बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) का असन्तुष्ट पदाधिकारीले एन्फामा आर्थिक अनियमितता भएको तथा पुरस्कारका रकमहरू नपाएको भन्दै वैशाख पाँच गतेबाटै आन्दोलन चर्काएको थियो । त्यससँगै एन्फाका अध्यक्ष गणेश थापामाथि विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले पनि कारबाही प्रक्रिया अघि बढायो । थापालाई पहिलोपटक कात्तिकमा तीन महिना तथा फागुनमा फेरि तीन महिना फुटबलको गतिविधि गर्न रोक लगायो । संसद्को सार्वजनिक लेखा समितिले अध्यक्ष थापामाथि छानविन सुरु ग¥यो ।  अख्तियारले आयोगले हाल थापाको मुद्दा तामेलिमा राखेको छ ।
एन्फा अहिले कार्यबाहकको भरमा चलेको छ । एन्फाको कार्यबाहक जिम्मेवारी ललितकृष्ण श्रेष्ठले पाएका छन् । गणेश थापा एन्फाबाट टाढा भएससँगै एसियाली फुटबल महासंघ (एएफसी) मा नेपालको भूमिका कमजोर भएको छ ।
यही विवादले गर्दा घरेलु संरचनाको लिग पनि प्रभावित बन्यो । वर्षको सुरुमै हुनुपर्ने लिग बल्ल माघमा सुरु भयो । यसअघि एन्फाले सर्वाधिक पुरस्कार राशिको एकमात्र नकआउट प्रतियोगिता ‘एन्फा कप’ गरायो । त्यसबाहेक नेपाली फुटबल सानातिना मोफसलको नकआउट प्रतियोगिताले धान्यो । राष्ट्रिय टिमका खेलाडीले राम्रो अभ्यासको मौका पाएनन् ।

नेपालले विश्वकप छनोट तथा एसियन कपको छनोट खेल खेल्यो जसमा पहिलो चरणबाटै बाहिरियो । होम एण्ड अबे पद्धतिको आधारमा विश्वकप छनोट चरण खेलाउँदा नेपाल छिमेकी प्रतिद्वन्द्वी भारतसँग समग्रमा २–० ले पराजित हुँदै बाहिरियो । एएफसी यू–२३ च्याम्पियनसिपमा पनि नेपालको खेल निराजनक रहृयो । इरानमा भएको समूह चरणको खेलमा नेपालले चार खेलमा १७ गोल खायो भने कुनै पनि गोल गर्न सकेन ।
सन् २०१३ को साफ खेलपछि नेपाली खेलाडीहरूले करिब २० महिनाको अवधिमा आठवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कुनै पनि गोल गर्न सकेनन् । फिफाको बरियता क्रममा भुटानभन्दा पछि प¥यो । यसैबीच महिला टिमले तेस्रो साफ च्याम्पियनसिप खेल्यो । नेपाल फाइनलसम्म पुग्न सफल भयो । पाकिस्तानमा भएको साफमा महिला टिमले दोस्रो स्थानमा चित्त बुझायो ।

भलिबलमा सुधार 
नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि घरेलु संरचनाको भलिबलका प्रतियोगिता उल्लेख्य रूपमा भए । नेपाली भलिबल सुधरिँदै गयो । पुरुष तथा महिला भलिबलका प्रतियोगिता उलेख्य भए । यसबीच नेपाल भलिबल संघले पहिलो दक्षिण एसियाली आमन्त्रण महिला भलिबल गरायो । जसमा नेपाली टोलीले ऐतिहासिक प्रदर्शन गर्र्दै नेपाली महिला भलिबलको इतिहासमा रजत पदक जित्न सफल भयो । नेपालले भारतबाहेक अन्य टिमलाई पराजित ग¥यो । नेपालले पहिलोपटक श्रीलंकालाई पराजित ग¥यो । घरेलु संरचनामा विभागीय टोलीको एपीएफको बर्चस्व रहृयो । महिला भलिबलमा ढोरपाटन कप चर्चामा रहृयो । त्यो पनि सर्वाधिक टिकट बिक्री गरेर । उक्त दुई साताको प्रतियोगितामा टिकट बिक्रीबाट मात्र २६ लाख रुपैयाँ संकलन गरेको थियो ।
एसियाडमा सहभागिता
नेपाल दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाडमा सहभागी भयो । विभिन्न २५ खेलमा २ सय ३ खेलाडी सहभागी भए । त्यसमध्ये विमला तामाङ पदक जित्ने एक्ली भइन् । एकल कातामा कास्य जितेकी उनको यस वर्षभर चर्चा रहृयो । एसियाड सकिनै लाग्दा पदकविहीनै भएर फर्किने पक्का जस्तै भइसकेको अवस्थामा इन्चोन पुगेकी विमलाले कास्यपदक जितेर इज्जत जोगाइन् । १८ वर्षीय विमलाले एकल कातामा पाकिस्तानी प्रतिद्वन्द्वी कुलसुमलाई ४–१ हराएर पदक जितिन् । उनको सहभागिता भने विवादमा प¥यो । परिषद्ले गरेको छनोटबाट कोरिया पुगेकी चञ्चला दनुवारलाई एरिनाबाहिरै राख्दै उनलाई नेपाल ओलम्पिक कमिटीले खेलाएको थियो ।
त्यसपछि एसियनबीच गेम्समा नेपालले पहिलोपल्ट साम्बो खेलमा पदक हात पा¥यो । थाइल्यान्डको फुकेटमा भएको एसियनबीच गेम्समा भगवती माझीले पनि कास्य पदक जितिन् ।
सम्मान 
सरकारले यस वर्ष विभिन्न खेलाडीलाई सम्मान ग¥यो । वैकुण्ठ मानन्धर र दीपक विष्ट २५–२५ लाख रुपैयाँसहित सम्मानित भए । दक्षिण एसियाली खेलकुदमा तीन वा त्योभन्दा धेरै स्वर्ण जितेकालाई २५ लाख रुपौयाँ दिने निर्णय गरेको एक वर्षपछि उनीहरू सम्मानित भएका हुन् । यस्तै ओलम्पियन महिला खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाखसहित सम्मान गरेको थियो । यी सम्मानले खेलाडीलाई खेलमा लागेरै बाँच्न सकिने आश देखायो ।
दुई हस्तीको सन्यास 
यस वर्षको अन्तिमसम्म नेपाली खेल जगतमा चिनिएको चर्चित खेलाडीको सन्यासले पनि चर्चा पायो । ओलम्पियन तथा कीर्तिमानी दीपक विष्टले सन्यास लिने वर्ष पनि २०७१ नै बन्यो । करिब पाँच वर्षअघिबाटै खेल्न छाडेका उनले सन्यास नभएर फरक भूमिकामा आएको भन्ने अभिव्यक्ति दिए । दीपक दक्षिण एसियाली खेलकुद (साग) को पछिल्लो चार संस्करणमा लगातार स्वर्ण जित्ने एक्ला खेलाडी हुन् । दीपकले पछिल्लोपटक २५ माघ ०६६ मा बंगलादेशमा सम्पन्न ११ औं सागमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसपछि दुवै खुट्टामा चोट लागेपछि दीपक रिङमा नदेखिए पनि प्रशिक्षकको रूपमा देखिएका थिए । ३८ वर्षीय दीपकले सन् १९९९ मा काठमाडौंमै आयोजित आठौं, २००४ मा पाकिस्तानमा आयोजित नवौं, सन् २००६ मा श्रीलंकामा आयोजित १० औं र सन् २०१० मा बंगलादेशमा आयोजित ११ औं साग खेलकुदमा लगातार स्वर्ण जित्दै कीर्तिमान कायम गरेका थिए ।
दक्षिण एसियामा अन्य कुनै पनि खेलाडीले अहिलेसम्म यो उपलब्धि हात पार्न सकेका छैनन् । दीपकपछि एथलेटिक्सका वैकुण्ठ मानन्धरको नाममा दक्षिण एसियाली प्रतिस्पर्धामा लगातार तीनपटक स्वर्ण जितेको कीर्तिमान छ । नेपाललाई एसियन खेलकुदबाट पनि उनले दुई कास्य पदक दिलाएका छन् । उनी ओलम्पिक खेलमा छनोट चरण पार गर्दै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।

वर्षको अन्तिममा क्रिकेटका विनोद दासले सन्यास लिए । नेपाली क्रिकेटमा १७ वर्ष बिताएका उनले अन्ततः चैत २८ गते औपचारिक रूपमा सन्यास घोषणा गरे । उनले अन्तिम खेल अष्ट्रेलियन फिलिप हृयुजको स्मृतिमा आयोजित मैत्रीपूर्ण खेलमा निलो टिमको कप्तानी गर्दै खेले । हृयुजको गत नोभेम्बरमा बलले टाउकोमा लागेर मृत्यु हुनुअघि अविजित रहँदै ६३ रन बनाएको सम्झनामा क्यानले अष्ट्रेलियन क्रिकेट बोर्डसँग मिलेर मैत्रीपूर्ण खेलको अयोजना गरेको हो ।

सन् १९९७ मा हङ्कङमा भएको एसीसी यू–१९ कपमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका विनोदले सन् २००० मा शारजहाँमा भएको एसीसी ट्रफीमा युएईविरुद्धको खेलबाट राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका थिए । विनोदले सन् २००५ देखि चार वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । त्यसपछि पारस खड्काले नेपालको कप्तानी सम्हालेका थिए ।

विनोदको कप्तानीमा नेपालले सन् २००१ मा काठमाडौंमा भएको एसीसी यू–१९कप जितेको थियो । उक्त ट्रफी नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि रहेको थियो । सन् २०१२ को एसीसी ट्रफीयता राष्ट्रिय टोलीबाट खेल्न नपाएका विनोदले राष्ट्रिय टोलीबाट ६८ खेल खेल्दै विनोदले ७६ विकेट लिएका छन् । विनोद घुँडाको समस्याले गर्दा राष्ट्रिय टिममा पर्न असफल हँुदै आएका थिए ।

बैशाख १ गतेको हिमालय टाइम्सबाट साभार  तस्बिर - गुगल

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’