खेल गतिविधि जेठ पहिलो सातादेखि
काठमाडौं, वैशाख २५ ।
'अधिकांश प्रशासनिक कार्यालयको
ढोकामा ताला, कर्मचारीहरू
बाहिरै टोलाइरहेका थिए । उनीहरूलाई नियमित कार्यहरू गर्न कठिन भएको देख्न सकिन्थ्यो । केहि समूह गार्डेन रहेको ठाउँमा भेला भई छलफल गरिरहेका
थिए । साथै, राष्ट्रिय
खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले समेत कार्यालयको दैनिक कार्यक्रम
गार्डेनमा गरिरहेका थिए ।’
यस्तो दृश्य शुक्रबार त्रिपुरेश्वरस्थित
राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा देखिएको थियो । जुन दृश्य देखिनुमा
कसैको दोष थिएन । दोष थियो गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प ।
वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई
केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पको कारणले नेपाली खेलकुद
अहिले अस्तव्यस्त भएको छ । जसको कारणले खेलकुद परिषदभित्र रहेको धेरै भौतिक
संरचनाहरू क्षतिग्रस्त भएको छ । विनाशकारी भूकम्पले परिषदभित्रको अधिकांश भौतिक
संरचनाहरूमा क्षति पुगेको छ । भूकम्पले त्रिपुरेश्वर क्षेत्रमा रहेका संरचनाहरूमा
बढी क्षति पुगेको छ ।
भूकम्पले पौडी पोखरीको सावर रुमको भित्ता
भत्किएर क्षतिग्रस्त बनेको स्कुटर । तस्वीरः निशान
|
यस महाभूकम्पको कारणले सबैभन्दा बढी क्षति
पौडी पोखरीमा पुगेको छ । जसको नयाँ संरचना नबनाई नहुने भएको छ । उक्त पौडी पोखरीको
पिँधको खाल्डोबाहेक अन्य सबै क्षतिग्रस्त रहेको छ । जसको निर्माणमा मात्रै २ देखि
३ करोड रुपैयाँ लाग्ने परिषद्को कर्मचारीको भनाइ रहेको छ । त्यसपछि टेनिस कोर्टमा
क्षति पुगेको छ । टेनिस कोर्ट वरिपरिको पर्खाल भत्किनुका साथै प्याराफिट चर्किएको
छ । परिषदसँगै रहेको नेपालको एक मात्र रंगशाला दशरथ रंगशालाका पनि क्षति पुगेको छ
। रंगशालाको २ वटा गेट भत्किनुका साथै अन्य धेरै भागमा चर्किएको छ । त्यस्तै
कबर्डहल, सेमी
कबर्डहल, खेलाडी
छात्रावास र प्रशासनिक कार्यालयमा क्षति पुगेको छ ।
दशरथ रंगशालामा भूकम्पले क्षति
पु¥याउँदा
राष्ट्रिय तथा अन्तार्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन सकेको छैन । खेलाडीहरूले
दैनिकरूपमा प्रशिक्षण गर्ने मौका पनि गुमाएका छन् । भूकम्पले विभिन्न
प्रतियोगिताहरू रद्द भएका छन् । कतिपय प्रतियोगिता केही महिनाका लागि पछि सारिएको
छ तर परिषदले अहिलेसम्म क्षतिको विवरण निकाल्न सकेको छैन । साथै पुनर्निर्माण
गर्नुपर्ने वा नयाँ संरचना गर्नुपर्ने त्यसबारे परिषद नै अनभिज्ञ रहेको छ ।
भूकम्पले राष्ट्रिय खेलकुद परिषद र रंगशाला
गरी करिव ७–८
करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक
टोलीको अनुगमनले क्षति अझै बढ्न सक्ने परिषद्का सदस्यसचिव युवराज लामा बताउँछन् ।
लामा भन्छन्, ‘क्षतिको
सम्पूर्ण विवरण आउन बाकी छ तर, धेरै क्षति पुगेको छ ।’ इन्जिनियर
टिमले विवरण तयार गर्दैछन् । उहाँहरूले क्षतिको विवरण हामीलाई दिएपछि मात्र
क्षतिबारे भन्न सकिन्छ ।’
सदस्यसचिव लामाले क्षतिग्रस्त भौतिक
संरचनाको निर्माण कार्य सरकारले बजेट छुट्याइएपछि हुने बताए । लामाले सबै
संरचनाहरूको पुनःनिमार्णको लागि अहिलेको बजेटले नपुग्ने भन्दै सरकारले सबै
संरचनाहरूको पुनर्निर्मार्णको लागि छुट्टै बजेट छुट्याउनु पर्ने बताएका छन् । ‘केही पुनर्निर्माणका कार्यहरू हामीले गरेका
छौं । त्यो सबै सीमित स्रोतले गर्न नसकिने भएकाले सरकारले छुट्टै बजेट छुट्याउनु
पर्ने हुन्छ ।’
त्यस्तै सदस्यसचिव लामाले पुनर्निर्माणमा
सबैभन्दा धेरै लागत पौडी पोखरी र रंगशालालाई लाग्ने बताए । उनले दशरथ रंगशालाको
प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै के कति लागत लाग्ने त्यो आउने बताए ।
पुरानै संरचनामा केही थपेर बनाउन सकिने भए रंगशाला कम लागतमा पुनर्निर्माण गर्न
सकिने तथा पुरानो संरचनाले काम नगरे धेरै लागत लाग्न सक्ने उनले बताए । त्यसपछि
सबैभन्दा धरै लागत पौडी पोखरीलाई लाग्ने लामाले जानकारी दिए । ‘पौडी पोखरी पुरै भग्नावशेषमा परिणत भएको छ ।
यस पोखरीको पुनर्निर्माण गर्न मात्रै करिब दुई देखि तीन करोडसम्मको लागत लाग्न
सक्छ,’ लामाले
भने ।
यसैबीच राष्ट्रिय खेलकुद परिषदले जेठको
पहिलो हप्ताबाट रोकिएको खेलकुद गतिविधिहरू बिस्तारै सुचारु गर्ने जनाएको छ ।
परिषदका सदस्यसचिव लामाले जेठबाट खेलहरू सञ्चालन गर्ने जानकारी दिएका हुन् । ‘तत्कालै खेल सञ्चालन गर्न सकिने अवस्था छैन,’ सदस्य–सचिव लामाले भने, ‘नियमित खेल सञ्चालनको लागि परिषदको विशेष
बोर्डको बैठक बसेर जेठको पहिलो साताबाट नियमित खेल सञ्चालन गर्ने तयारी गरिरहेका
छौं ।’यस्तै सदस्यसचिव लामाले पहिले खेल अर्कै
तरिकाले हुने गरेको बताउँदै अवको खेल केही समयसम्म फरक हुने बताए । ‘परिषदले सबैभन्दा पहिले खेलाडीहरूलाई
मानसिकरूपमा तयार गरी नयाँ ढंगबाट नयाँ सोच र विचारका साथ खेल गतिविधिलाई अगाडि
बढाउने छौँ,’ उनले
थपे ।
साथै परिसदले अर्को व्यवस्था नभएसम्मको लागि
परिषदको प्रसाशनिक कार्य नियमित सञ्चालन गर्न रंगशालामा साधारण प्याराफिटमुनिको
कोठाबाट गर्ने भएको छ । जसका लागि निर्माणाधीन रहेको कोठाहरूको सरसफाइ र
कार्यालयको सामग्रीहरू सार्ने काम भइरहेको छ ।
साभार - बैशाख २६ गतेको हिमालय टाइम्स दैनिकबाट
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |