म्याच फिक्सीङ पछिको नेपाली फुटबल


sagar thapa nepal football team caption
अदालतमा बयान दिन जाने क्रममा कप्तान थापा - तस्बिर निशान 
निशान राई

नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको थियो । दशैको मुखैमा आएर नेपाल प्रहरीले  खेल मिलोमतो ‘म्याच फिक्सीङ’ गरेको आरोपमा नेपालका उच्च तहका फुटबलरहरु पक्राउ गरेको खबर आयो । प्रहरीले सनसनीपूर्ण तरिकाले सार्वजनिक गरेको उक्त प्रकरणमा पुर्व खेलाडी तथा राष्ट्रिय टोलीमा रहेका पाच सदस्यहरुलाई पक्राउ गरेको थियो ।जसमा थिए राष्ट्रिय टिमका कप्तान सगर थापा, डिफेन्डर सन्दिप राइ, गोलकिपर रितेश थापा, तथा पुर्व खेलाडीहरु विकाससिंह क्षत्री र अन्जन केसी  । दशैँपछि पक्राउ परेका  उनीहरुलाई प्रहरीले बिशेष अदालतमा ‘राज्यविरुद्धको अपराध’मा मुद्दा चलायो । तर, कमजोर प्रमाण भएको भन्दै बिशेष अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्यो ।
यता, खेलाडीहरुले भने आफुहरु निर्दोष रहेको बताउदै आएको थियो । जब, अदालतले खेलाडीहरुलाई धरौटीमा छाडेको थियो । त्यसलगत्तै एसियाली फुटबल महासंघ (एएफसी) ले एउटा रिपोर्ट सार्वजनिक गर्यो । जसमा नेपाली खेलाडीहरुले खेल मिलेमतो गरेको देश र मिलेमतो गरेवापत प्राप्त गरेको पैसाको विवरण सार्वजनिक गरेको थियो । त्यति मात्र नभई  यी पाँच फुटबलरलाई एएफसीले फुटबलको कुनैपनि गतिविधिमा सहभागि हुन नपाउनेगरी आजीवन प्रतिबन्ध लगायो । साथै यी पाच फुटबलरहरुले अब बिशेष अदालतको फैसला पर्खाइमा छन् ।
विश्व फुटबलको ‘म्याच फिक्सीङ’ का लागि कुख्यात मानिएका विल्सनराजन पेरुमलबाटै नेपाली खेलाडीहरुले पैसा लिएर नतिजा अन्यदेशको पक्षमा पारेको तथ्य एएफसीले फेला पारेको थियो । जसलाई नेपाल प्रहरी,  स्पोर्टसराडार, युरोपेली फुटबलका इन्टिग्रिटी युनिटले सहयोग गरेका थिए । पेरुमलले सिंगापुरलाई स्टेसन बनाएर नेपाली खेलाडीलाई खेल मिलेमतोको लतमा ल्याएका थिए । तर, पेरुमल अहिले हंगेरीमा शरण लिएर बसेका छन् । खेलाडीहरुले आठ खेलमा फिक्सिङ गरेको एएफसीको दाबी छ । पेरुमलसहित सिंगापुरकै टिटानी पेरियासामी र मलेसियाका केसभन पटानले पठाएको ३८ लाख ६५ हजार ६ सय ५० रुपैयाँ ५० पैसा पक्राउ परेका फुटबलर र उनीहरुका नातेदारले लिएको पाइएको छ ।
यो त थियो, नेपाली खेलकुदलाई तरङ्ग ल्याउने एक घटनाक्रम । ‘म्याच फिक्सीङ’ (खेल मिलेमतो) आफैमा गलत शब्द हो । तर, अहिले नेपाली खेलकुद अर्थात् फुटबल त्यहि ‘म्याच फिक्सीङ’ प्रकरणले तातिएको छ । विश्व फुटबल तथा खेलकुदमा सुनिदै आएको ‘म्याच फिक्सीङ’ प्रकरणले नेपाली खेलकुदमा एउटा तरङ्ग ल्याइदिएको छ । नहोसपनि कसरी ? विश्वमा सुनिदै आएको खेल मिलेमतोको जालो म्याच फिक्सीङ नेपालका खेलाडीहरु बाटै भइरहेको प्रमाण फेला परिसकेपछि ।
खेल मिलेमतो प्रकरणले नेपाली फुटबल तथा खेलकुदमा सकारात्मक तथा नकारात्मक दुवै खालको असर परेको छ । तर, नेपाली खेलकुद हाक्नेहरुले अब सकारात्मक कुराहरुको खोजि गर्दै अब आउने दिनहरुमा यस्तो घटनाहरुलाई निर्मुल बनाउने कार्यहरुको थालनी गर्नेपर्ने हुन्छ । नेपाली खेलकुदको सर्बोच्च सस्था राष्ट्रिय खेलकुद परिषद (राखेप ), अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसकार्यमा ढिलाई गर्नु हुन्न । नेपाली खेलकुद त्यसै त अन्तरिक किचलोले रुमलिदै गरेको अवस्था छ । त्यसमाथि दक्षिण एसियामा समेत निकै पछाडी परिसकेको छ ।अझ यस खेलमिलेमतो प्रकरणले नेपाली खेलाडीहरु प्रति हेरिने दृष्टिकोणमा गलत संदेश गएको छ ।
साफ च्याम्पियनसिप नजिकिदै गर्दा नेपाली खेलाडीहरुमा यसको असर प्रत्यक्ष पर्यो। भारतमा भैरहेको यो साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बिदेशी भूमिमा अभ्यासको मौका निकै कम पायो ।घरेलु मैदानमा गरेको अभ्यासले सकारात्मक नतिजा आउन घार्हो छ । एन्फाले नेपाली टोलीलाई बिदेशमा अभ्यास तथा अभ्यास खेलका लागि प्रयास नगरेको भने हैन । तर, खेल मिलेमतोको घटनासंगै नेपालसंग अन्य देशले अभ्यास खेल खेल्न इच्छा नै देखाएन । अन्तिममा आएर बंगलादेश एक खेल खेल्न राजी भएको थियो । उक्त खेल नेपालले १ –० ले गुमाएको थियो ।
तर, नयाँ पुस्ताका खेलाडीहरुमा भने यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ । खेल मिलेमतो एउटा अपराध हो जसमा जो कोहिले पनि उन्मुक्ति पाउदैन भन्ने संदेश गएको छ । र, लामो समयसम्म खेलाडीहरुले खेलमिलेमतो गर्न हिच्किचाउनेछन् । खेलाडीहरुमा सानो लोभले खेल लामो समय लगाएर आर्जेको खेल जिन्दगी, सम्मान सानो गल्तीले गुमाउने कुराको ख्याल गर्नेछन । सगर, सन्दिप जस्ता खेलाडीहरुको खेल जीवन सकिएको उदाहरण नयाँ पुस्ताका खेलाडीहरुले सिक्नेछन् । जसका लागि एन्फाले खेलाडहरुलाई अभिप्रेणित, शिक्षा दिने कार्य गर्न जरुरि छ ।
एन्फाले अब निकै संयम भएर अघि बढ्नुपर्ने आवश्यक छ, ढिला गर्नु हुन्न । किनकि यो घटनाले नेपाली खेलकुद तथा एन्फालाई  आखा खोल्दिने काम गरेको छ । यसबाट एन्फाले केहि सिक्नुपर्छ । अबपनि एन्फाले केहि सिकेन भने त्यो नेपाली फुटबलका लागि दुर्भाग्य हुनेछ । यसै त नेपालको घरेलु फुटबल पनि म्याच फिक्सिङले ‘ध्वस्त’ पारेको छ । उपाधिको छिनोफानोदेखि रेलिगेसनको प्रतिस्पर्धा पनि मैदानको खेलभन्दा फिक्सिङमा आधारित हुने गरेको छ । घरेलु लिगमा एकै खेलको निम्ति १५–१६ लाख रुपैयाँसम्ममा लेनदेन भएको क्लबहरुले नै बताउदै आएको छ । खेल मिलेमतोबारे प्रशिक्षक, अफिसियलहरुले खुलेरै बोलेपनि फिक्सिङप्रति एन्फा कहिल्यै गम्भीर भएन । तर, एन्फाले नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा फिक्सिङबारे छानबिन समिति बनाएको थियो । तर, त्यो समिति नाम मात्रको रह्यो । उक्त समितिको प्रतिवेदन अहिलेसम्म आएको छैन । अब भने एन्फाले घरेलु लिगबाटै यो जुवाको रुपमा रहेको फिक्सिङप्रति कडा कदम चल्नुपर्छ ।


साभार - हिमालय टाइम्स ( पुस १०)


Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’