सपनाको बिँडो
अधिकांश आमाबुवाको चाहना हुन्छ– छोरा वा छोरीलाई डक्टर, इन्जिनियर या अचेल चल्तीमा रहेको सीए बनाउने । ताकि उनीहरूले नाम, दाम र जीवन कमाऊन्।
कमै आमाबुवाले सन्तानलाई खेलाडी भएको सोच्न सक्छन् । कारण- नेपालमा खेलाडीले खेलेरै जीवन धान्न कठिन छ । नेपाली खेलकुदमा नाम छ तर बाँच्ने आधार दाम छैन ।
तर, नवलपरासी प्रतापपुर गाउँपालिकाका एक बुवा छन्- रामबालक कोहार, जो आफ्नो छोरालाई खेलाडी बनाउन लागिपरेका छन् । आफ्नो छोरा देशकै ठूलोधावक बनेको हेर्ने रहर छ उनलाई । त्यसैले आफ्नो छोरालाई प्रेरणा दिन ४५ वर्षको उमेरमा 'हाफ-म्याराथन' दौडिन उनलाई कुनै चुनौती लागेन । उनी छोरालाईदौडमा प्रेरित गर्न लुम्बिनीसम्म पुगे- १६ वर्षीय जेठा छोरा गिरीलाल कोहारलाई सँगै लिएर ।
लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा भएको चौथो संस्करणको 'लुम्बिनी शान्ति म्याराथन'मा दुवै दौडिए । बुबा राम २१ किलोमिटरको हाफ म्याराथनमादौडिए भने छोरा गिरीलाल ५ किलोमिटरमा सहभागी भए । दुवैले 'टप १०' भित्र रहेर दौड पूरा गरे । राम नवौं स्थानमा रहँदा छोरा गिरीलालले पाँचौं स्थानमा दौडपूरा गरे ।
"छोरालाई खेलाडी बनाउने विचार छ । त्यसैले उसलाई खेलाउन म यहाँ आएको । मैले खेल छाडेको ८–९ वर्ष भयो । लामो समयपछि दौडिँदा त उत्पातै सास फुल्ने रहेछ," पूर्व एथ्लेटिक्स खेलाडी रामले भने, "९ वर्षपछि पहिलोपटक दौडिएको हुँ ।"
गिरीलाल आफ्ना बुबाले दौड पूरा गर्दा फिनिसिङ लाइनमै थिए । अरू खेलाडीको दाँजोमा बूढो उमेर देखिने रामले दौड पूरा गर्दा सबैले हुटिङ गरे ।
शायद त्यहाँको माहोलले गिरीलाललाई एथलेटिक्स खेल्न थप प्रेरणा मिल्यो । उनलाई जसरी हुन्छ, बुबाको सपना पूरा गर्ने इच्छा पलाएको छ । बुबाको छेउमाबसेका गिरिलालले भनिहाले, "मेरो खेलाडी बन्ने सपना छ । मलाई लाग्छ- बुवाको सपना पुरा गर्छु ।"
बुवाको सपना पूरा गर्न गिरीलालको मेहनत पनि कम छैन । कावासोती, सुमनी, सुनौलमा हुने विद्यालयस्तरीय प्रतियोगितामा स्वर्ण जितिसकेका गिरीलाल पत्थरीकोऔषधि खाँदै लुम्बिनी म्याराथनमा सहभागी थिए । डक्टरले पानी बढी खाएर दौडिन मिल्छ भनेका कारण उनी दौडमा सहभागी भएका हुन् । महेन्द्र माध्यमिकविद्यालयको कक्षा ९ का विधार्थी गिरीलाल भन्दैथिए, "राम्रो नतिजा आउँछ भन्ने सोचेको थिएँ तर पाँचौंमात्र भएँ । केही सेकेन्डले पछि परें । मलाई पथरी भएको छ ।पथरीको कारण दौडको बेला पेट दुख्यो, त्यसैले गाह्रो भयो ।"
राम्रो प्रशिक्षण पाए बुबाको सपनासँगै देशको लागि पदक जित्न सक्छु भन्ने गिरीलाललाई लाग्छ । तर, त्यसका लागि सदरमुकाममा बस्न उनलाई समस्या छ ।"जिल्लामा मात्र कोच छ, त्यहाँ जान सकिँदैन," हाल नवलपरासीको एथलेटिक्स प्रशिक्षक मनोहर दाहालसँग प्रशिक्षण लिँदै गरेका गिरीलालले थपे, "घरमा राम्रोट्रेनिङ छैन, त्यसैले अलि गाह्रो हुने गरेको छ ।" नवलपरासीबाहेक गिरीलालले पहिलोपटक बाहिर गएर प्रतियोगिता खेलेका हुन् ।
प्रशिक्षक मनोहर गिरीलालका मात्र होइन, उनको बुवाका समेत प्रशिक्षक हुन् । उनले गिरीलाल राम्रो खेलाडी बन्न सक्ने देखेका छन् । भन्छन्, "गिरीलालकोबुवालाई समेत मैले प्रशिक्षण गराएको हुँ । उनी क्षेत्रीय खेलाडी थिए । अहिले उनका छोरालाई ट्रेनिङ दिन्छु । उमेर कलिलो छ उसको । तर, राम्रो अवसर पाउने हो भने उनी देशकै राम्रो खेलाडी बन्न सक्छन् । निकै मेहनेती छन् ।"
अरु धेरै अभिभावकभन्दा रामबालक फरक छन् । खेलकुदले दिने नामप्रति उनको झुकाव रहरलाग्दो छ । भन्छन्, "नामभन्दा ठूलो केही छैन, नाम चलाउन छोरालाई खेलाडी बनाउने मेराे लक्ष्य हो ।"
लुम्बिनी म्याराथनका लागि दुवैले १० दिनको मात्र तयारी गरेका थिए । प्रशिक्षक आफैं, खेलाडी आफैं भएर तयारी गरे । छोटो समयमा छोटो तयारी गर्नु उनीहरुकोरहर थिएन ।
भारतीय सीमा क्षेत्रमा घर भएका रामबालक सामान्य किसान हुन् । तीन छोरी र दुई छोराका बुवा रामबालकलाई सधैं खेलकुदमा लागे घर–परिवार चलाउन गाह्रोहुन्छ । तर, एकदिन उनले पत्रिकामा समाचार देखे, "लुम्बिनीमा म्याराथन हुँदै छ ।"
त्यो समाचार देखेपछि रामबालकको मनमा पुलुक्क खुशीका गुब्बारा फुले । त्यो समाचार नदेखेको भए उनी र छोरा पोखरा जाने योजनामा थिए ।पोखरामा हरेकवर्षको फागुन ७ मा आयोजना हुने 'पोखरा अन्तर्राष्ट्रिय म्याराथन'मा छोरालाई भाग लिन लगाउने योजनामा थिए राम ।
लुम्बिनीमा हुने समाचारले उनलाई उत्साहित गराउनुको कारण प्रतियोगिता खेल्न जाँदा लाग्ने खर्च प्रमुख थियो । लुम्बिनीमा प्रतियोगिता हुँदा पोखराभन्दा दोब्बरकम खर्च भयो उनको । यो प्रतियोगितमा उनको कुल खर्च २५ सयभन्दा बढी भएन ।
समाचार पढेपछि बाबु-छोराले आफ्नै टोलमा आफ्नै बुद्धिले भ्याएको तयारी गरे । त्यही तयारीले लुम्बिनी म्याराथनमा दौडिए ।
आफू नेपालको अन्तर्राष्ट्रिय खेलाडी बन्न नसकेकोमा रामबालकलाई सधैं ग्लानि भइरहन्छ । त्यही घिडघिडोले होला- उनी छोराबाट आफ्नो अधुरो सपना पूरा गर्न चाहन्छन् । 'दंगल' फिल्मका आमिर खानजस्तै ।
रामबालक राष्ट्रिय खेलकुदका लागि छनोट हुने एथ्लेटिक्स खेलाडी हुन् । उनले त्यसबेलाको ठूलो प्रतियोगिता वीरेन्द्र रनिङ शिल्डमा दुई पटक (०५६-५७) स्वर्णजितेका थिए । त्यसपछि उनी पोखरामा भएको क्षेत्रीय छनोटमा समेत पुगे । वीरेन्द्र शिल्ड खेल्दा उनी ९ कक्षामा पढ्थे । त्यो क्षेत्रमा बढी उमेर भएपछि मात्रै पढ्नेचलन छ । त्यसैले ९ कक्षामा हुँदा रामबालक २१ वर्षमाथिका थिए । उनी क्षेत्रीय खेलाडीसमेत भए । तर, राष्ट्रिय खेलकुदमा भने उनले खेल्न पाएनन् ।
पाँचौं राष्ट्रिय खेलकुदका लागि ०५८ मा पोखरामा पश्चिमाञ्चलको क्षेत्रीय छनोट भयो । २१ किमिको हाफ-म्याराथनमा १ घण्टा २० मिनेट ६ सेकेन्डको समय निकाल्दैरामबालकले स्वर्ण जिते । स्वर्णसँगै उनी पश्चिमाञ्चलबाट राष्ट्रिय खेलकुदमा छनोट भए ।
तर, उनले राष्ट्रिय खेलकुद खेल्न पाएनन् । "राष्ट्रिय खेलकुदमा छानिए पनि मैले भाग लिन पाइनँ," रामबालकले सम्झिए, "हामी त्यो बेला दशरथ रंगशालामा ट्रेनिङगर्दै थियौं । तर, जेठ १९ गते राजा वीरेन्द्रको निधन भयो । त्यसपछि प्रतियोगिता सऱ्यो । पछि खेल त भयो तर मलाई बोलाएनन् ।"
पाँचौं राष्ट्रिय खेलकुद सुरु हुनुभन्दा ठीक एक साताअघि नारायणहिटी राजदरबार हत्याकाण्ड भएको थियो । त्यसपछि पाँचौं राष्ट्रिय खेलकुद हुन ७ वर्ष लाग्यो ।त्यससँगै रामबालकको खेलकुद करिअर नै सकियो । राष्ट्रिय खेलकुद खेल्न बञ्चित भए पनि रामबालकले म्याराथन दौड छाड्न सकेनन् ।
०६२ र ६३ को पोखरा अन्तर्राष्ट्रिय फुल म्याराथनमा पनि उनले सहभागिता जनाए । तर, पहिलेको जस्तो नतिजा ल्याउन सकेनन् । त्यसपछि उनले म्याराथन छाडे । त्यसपछि हुर्कंदै गरेका जेठा छोरामा उनले आफ्नो सपना हस्तान्तरण गरे । अहिले उनी त्यही सपना पूरा गर्न दिनरात लागिपरेका छन् ।
साभार - बाह्रखरी डटकम
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |