नेपाली क्रिकेटका ‘मिडल स्टम्प’

काठमाडौंको भीमसेनस्थान । पुरानो शहर । खेल्ने मैदान त के– खाली ठाउँ भनेका गल्लीमात्रै बाँकी थिए । तर, त्यही गल्लीमा अचम्मको खेल आयो– सानो बललाई ब्याटले हिर्काउनु पर्ने– क्रिकेट । टोलमा सबैको ध्यान त्यही खेलले तान्यो । फुटबलमा राम्रो ज्ञान बटुल्दै गरेका १०–११ वर्षीय ज्ञानेन्द्र (ज्ञानु) मल्ललाई पनि त्यसले प्रभाव पार्‍यो । रहरैरहरमा ब्याट उठाए । रहरैरहरमा बलिङ गरे । रहरैरहरमा बलको पछाडि कुदे । र, त्यही रहर कतिखेर ‘प्यासन’ बन्यो, पत्तै पाएनन् । फुटबलको चम्काचम्की देखेर हुर्किएका ज्ञानुलाई क्रिकेटले यसरी मोहनी लगायो– मानौं उनी यसैका लागि जन्मिएका हुन् ।
लहैलहैमा क्रिकेटतिर लागेका ज्ञानु अहिले नेपाली क्रिकेट टिमका मजबुत ‘मिडल स्टम्प’ हुन् । उमेर समूहबाट नेपाली झन्डाअंकित जर्सी पहिरिन थालेर अहिले राष्ट्रिय टोलीका उपकप्तानसम्म पुगेका छन् ।
मान्छेलाई ‘भाग्य’ले कतिखेर रोज्छ, भन्न सकिन्न । ज्ञानुका लागि भने त्यो ‘भाग्य’ छिट्टै आयो– टोलकै एक साथीबाट । उनैले ज्ञानुलाई क्रिकेट खेल्न सिकाए । क्रिकेटबारे बुझाए, खेल्ने तरिका सिकाए । नयाँ खेल, नयाँ नियम । टिभीमा हेर्दै नियम सिके । ‘प्यासन’ भएपछि सिक्न के बेर ! सबैले ‘राम्रो गर्न सक्छौ’ भने, सहयोग गरे । पछि यांगल क्लबबाट समेत खेले ।
उपकप्तान÷ओपनर ब्याट्सम्यान ज्ञानु र नेपाली क्रिकेटको नाता सुरु भएको एक दशक बितिसकेको छ । ज्ञानुले खेल्न सुरु गर्दा नेपाली क्रिकेट बिस्तारै बामे सर्दै थियो । नेपाली क्रिकेटको विकाससँगै ज्ञानुको प्रदर्शन र जिम्मेवारीसमेत बढ्दै गयो ।
ज्ञानुले आफ्नो जिम्मेवारी पूरा गर्दै गए । नेपाली क्रिकेटमा राम्रो छाप छाडे । “शरीरले साथ दिँदासम्म र आफ्नो पर्फर्मेन्स भएसम्म देशको लागि खेल्छु । त्यसपछि नेपाली क्रिकेटलाई केही रिटर्न दिने योजना छ,” ज्ञानुले योजना सुनाए, “मलाई क्रिकेटले सबथोक दियो, पछि नेपाली क्रिकेटलाई नै सबै थोक दिने विचारमा छु, प्रशिक्षक वा अरु केही बनेर क्रिकेटलाई योगदान दिन्छु ।”
ज्ञानु नेपाली क्रिकेटमा उमेर समूहको यू– १५ राष्ट्रिय टोलीबाट जोडिएका हुन् । सन् २००५ मा ज्ञानुले यू– १५ टोलीको उपकप्तान बन्दै नेपाली क्रिकेटसँग साइनो गाँसेका थिए । उनी त्यसै वर्ष यू– १७ को कप्तान चुनिए । त्यसको एक वर्षपछि श्रीलंकामा आयोजित आईसीसी यू– १९ विश्वकप खेल्ने नेपाली टोलीमा पनि अटाए । त्यो विश्वकपमा ज्ञानुले आफ्नो कला देखाए । उनको ब्याटबाट ६ खेलमा १४५ रन बन्यो । उनले प्लेट सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अविजित ४६ रन बनाएका थिए, जुन खेलमा नेपाल २ रनले विजयी भएको थियो । प्रतियोगितामा नेपालले न्युजिल्यान्डलाई १ विकेटले पराजित गर्दै प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो ।
नेपालले दुईपटक एसीसी यू– १९ कपको उपाधि जित्दा ज्ञानु टोलीका महत्वपूर्ण सदस्य थिए । त्यसयता ज्ञानुले नेपाली टोलीमा पछाडि फर्किएर हेर्नु परेको छैन । अझै केही वर्ष टोलीमा पर्ने आत्मविश्वास उनमा छ । भन्छन्, “राष्ट्रिय टोलीमा डेब्यु गरेयता टिमबाट बाहिर गएको छैन, आफैंलाई भाग्यमानी ठान्छु । शरीरले साथ दिए अझै ४–५ वर्ष क्रिकेट खेल्छु ।”
सुरुवातमा मध्यक्रमतिर ब्याटिङ गर्ने ज्ञानु अहिले ओपनर ब्याट्सम्यान बनेका छन् । सन् २०११ यता राष्ट्रिय टोलीका उपकप्तान छन् । उनले यसै वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत काठमाडौँमा केन्याविरुद्धका दुई खेलमा कप्तानीसमेत गरेका थिए ।
नेपाली टोलीमा ज्ञानु भरपर्दा ब्याट्सम्यान मानिन्छन् । बाहिर शालिन देखिने ज्ञानु मैदानमा भने आक्रामक बन्छन् । उनी चम्किएको खेलमा नेपाल विरलै पराजित भएको छ ।
एकदिवसीय क्रिकेटमा अहिलेसम्म टिमबाहिर नपरेका ज्ञानु टी–२० का सुरुवाती खेलमा भने टोलीमा अटाएनन् । तर, जुन दिन परे, त्यसयता उनले सबैखाले खेलमा स्थान बनाउँदै आएका छन् । सन् २००६ मा मलेसियामा आयोजित एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका ज्ञानुले डेब्यु खेलमै अर्धशतकीय पारी खेलेका थिए । कुवेतविरुद्ध ७९ रन बनाएर उनी ‘म्यान अफ दि म्याच’समेत बने ।
ज्ञानुले टी–२० क्रिकेटमा सन् २०१४ मा डेब्यु गरे । बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपमा हङकङविरुद्ध उनले पहिले अन्तर्राष्ट्रिय टी–२० खेलेका हुन् । उक्त खेल नेपालले जितेको थियो ।
ज्ञानु लामो समय नेपाली क्रिकेटसँग जोडिए र निकै आरोह/अवरोह बेहोरे । तर, सन् २०१४ को विश्वकप खेल्दाको क्षण भने अझै ताजै छ । त्यो त्यही खेल हो, जुनमा ज्ञानुले डेब्यु गरेका थिए ।
त्यो दिन नेपालले पहिलोपटक आईसीसीको ठूलो प्रतियोगिता (विश्वकप) खेल्दै थियो । ज्ञानुले मुस्कुराउँदै भने, “पहिलोपटक विश्वकप क्रिकेटको मैदानमा उत्रिँदा र राष्ट्रिय धून बज्दा म भावुक भएँ । किनकि त्यतिबेला ‘नेपालले पनि विश्वकप खेल्छ र ?’ ‘नेपाल कहाँ छ ?’ भन्नेजस्ता कुरा सुनिन्थ्यो । त्यस्तो अवस्थामा हामीले विश्वकप खेल्यौं र राम्ररी जवाफ पनि दियौं । त्यो बेला सबै निकै उत्साहित थियौं । त्यो मेरा लागि कहिल्यै बिर्सन नसकिने क्षण हो ।”
गर्व गर्न सकिने त्यही क्रिकेटमा निरन्तरको राजनीतिले ज्ञानुलाई सधैंजसो पिरोल्छ । “खेल जित्दा र राष्ट्रका लागि खेल्दा जति खुशी भइइन्छ, क्रिकेटमा बढ्दो राजनीतिले त्यति दुःखी भइन्छ,” नेपाली क्रिकेटको पछिल्लो अवस्था सम्झिँदै ज्ञानुले भने, “क्रिकेटमा लागेपछि दुःखी हुनुपर्ने अरु खासै कारण छैनन् तर नेतृत्वदायी भूमिकामा बसेर क्रिकेटलाई राजनीतिक अस्त्र बनाएको देख्दा साह्रै मन पोल्छ ।”
ज्ञानुले नेपाली टोलीले खेलेका सबै प्रतियोगिता खेले । एकदिवसीय, टी–२०, लिस्ट ‘ए’ का खेल सबै खेलिसकेका छन् । आईसीसीले आयोजना गर्ने विश्व क्रिकेट लिग डिभिजन ५, डिभिजन ४ र डिभिजन ३ को उपाधि नेपालले जित्दा ज्ञानु भरपर्दा ब्याट्सम्यान थिए । त्यस्तै, डिभिजन २ को शीर्ष ४ मा पुगेर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान बनाउँदा पनि ज्ञानुको भूमिका अहम् थियो ।
नेपालले खेलेका अन्य प्रतियोगिताहरू– विश्वकप छनोट, इन्टरकन्टिनेन्टल कप, एसीसी च्याम्पियनसिप, एसीसी प्रिमियर लिग, एसीसी ट्रफी तथा एसियन खेलकुदमा ज्ञानुले नेपालको झन्डामुनि रहेर प्रतिस्पर्धा गरे । यसबीचमा उनले आफ्नो ब्याटिङबाट धेरै रनसमेत जोडे । उनी घरेलु प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरीको एपीएफ, डीपीएल (धनगढी प्रिमियर लिग)मा सीआईबी अत्तरिया र एभरेस्ट प्रिमियर लिगमा ललितपुरको जर्सीमा खेल्छन् ।
ज्ञानु अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने सातौं नेपाली खेलाडी हुन् । उनले विश्व क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध ११४ रन (१२५ बल) बनाएका थिए । त्यस्तै, एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि ज्ञानुकै नाममा छ । उनले सन् २०१२ मा एसीसी एलिट ट्रफीमा साउदी अरबविरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए ।
क्रिकेट खेलेर ज्ञानुले धेरै पाए । बेलायतको लर्ड्स क्रिकेट मैदानमा समेत खेल्न पाए । नेपाल र बेलायतबीच मित्रवत् सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा गत वर्ष नेपालले विश्वकै पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग लर्ड्समा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त टोलीमा ज्ञानुसमेत थिए । यो अर्थमा ज्ञानु निकै भाग्यमानी छन् । “लर्ड्स नाम आफैंमा काफी छ, टेस्ट क्रिकेट खेल्नेहरूको थलो, त्यो मैदानको पेभेलियनमा बस्न पाउनु नै प्राउड मोमन्ट हो,” ज्ञानुले भने ।
ज्ञानुलाई लर्ड्समा उत्रिँदा वर्षौं पुरानो सपना पूरा भएको जस्तो लागेको थियो । उनले सुनाए, “त्यो स्थानमा खेल्नु ठूलो कुरा हो, विश्वका ठूला क्रिकेट स्टारहरूका लागि त सपना हुन्छ, हाम्रो के कुरा भयो र । त्यहाँ खेल्नु यसकारण पनि महत्वपूर्ण छ कि नेपाल देश छ भन्ने नै कतिपयलाई थाहा छैन । झन् क्रिकेट त परै जाओस् ।”
क्रिकेट खेलेर खेलाडीहरूले नाममात्र कमाएका छैनन्, दाम पनि कमाएका छन् । ज्ञानुले पनि कमाए । तर, उनको बुझाइमा नेपाली क्रिकेट अझै व्यावसायिक भएको छैन । “१४–१५ जना राष्ट्रिय खेलाडीले तलब पाए भन्दैमा क्रिकेट र खेलाडी व्यावसायिक भए भन्न मिल्दैन । यदि एक खेलाडीले टिममा नपरे पनि परिवार पाल्न सक्छ भने बल्ल मान्न सकिन्छ,” ज्ञानुले थपे, “नेपालमा क्रिकेट करिअरको रूपमा विकास भएको छैन, क्रिकेटमा मात्र नभएर नेपालको खेल जगत् नै व्यावसायिक भएको छैन ।”
नेपाली खेलकुदको विकासमा सरकारको मात्र मुख ताक्ने बानी उनलाई मन पर्दैन । त्यही कारण नेपाली खेलकुद पछि परेको उनी ठान्छन् । “हामीले सरकारको मात्र मुख ताकेर हुन्न, खेल विकास गर्न सबै क्षेत्र लग्नु पर्छ,” उनी भन्छन्, “निजी क्षेत्रले खेलकुदमा लगानी गर्नुपर्छ । खेलाडी राष्ट्रको गहना हो भने किन यो क्षेत्रमा निजी क्षेत्र नलाग्ने ?”
खेलाडीको सफलता र असफलतामा उसको मेहनत र प्रशिक्षणले निकै महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले त ज्ञानु मेहनत र प्रशिक्षण गर्दा मनोरञ्जन लिन्छन् । भन्छन्, “मेहनत र प्रशिक्षण सबैले गरेका हुन्छन् तर ब्यालेन्स पुर्‍याएर गरिएन भने फल राम्रो हुँदैन । ब्याटिङ, बलिङ र फिल्डिङमा दौडिएर मात्र हुँदैन, वैज्ञानिक तरिकाले अभ्यास गर्नु पर्छ । सेल्फ ट्रेनिङ भनेको आत्मविश्वास बढाउनु हो । त्यसैले कडा मेहनत र प्रशिक्षणलाई मनोरञ्जनको रूपमा लिनुपर्छ ।”
एकजना खेलाडी स्टार बन्न मेहनतको जति भूमिका हुन्छ, त्योभन्दा बढी परिवारको हात हुन्छ । ज्ञानुलाई परिवारको सहयोग नभएको भए निकै गाह्रो हुन्थ्यो । कलिलै उमेरमा प्रेम विवाह गरेका ज्ञानुले भने, “परिवारको सपोर्टबिना केही हुन्न । सुरुमा परिवार नै हो बाँच्ने आधार । खेलमा परिवारको सहयोग नहुँदो त म अहिलेको ज्ञानेन्द्र हुने थिइनँ ।”
साभार - बाह्रखरी

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)