लर्ड्समा शक्तिको त्यो एक दिन !


                                                                                                                                                                                                                                                                                                                                

हरेक तीर्थयात्रीको एउटै सपना हुन्छ, आफ्नो धर्मको पवित्र स्थल पुगेर दर्शन गर्ने ।
धर्मको अर्थ कुनै अलौकिक तीर्थाटन होइन ।


क्रिकेटको कुरा चल्दा बेलायतको लर्ड्स क्रिकेट मैदानलाई पवित्र स्थलका रूपमा लिइन्छ । र, क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा केही समयअघि नेपालले पनि खेल्ने मौका पायो ।


टोलीमा थिए, नेपाली क्रिकेटको शक्ति मानिएका किफायती बलर शक्ति गौचन । दुई दशकदेखि नेपाली क्रिकेटमा जोडिएका गौचनले क्रिकेटको पवित्र स्थल लर्ड्समा खेल्न पाए र त्यो दिनलाई पवित्र र अवस्मरणीय क्षण बनाए ।


“हिन्दू धर्मावलम्बीले पशुपतिनाथलाई जसरी लिन्छन्, हामी क्रिकेटरले पनि लर्ड्सलाई त्यसरी नै लिन्छौं,” शक्ति भन्छन्, “हामी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलको तयारीका लागि गएका थियौं । लर्ड्समा हामीले खेल्न पाउनु हाम्रा लागि जीवनकै अवस्मरणीय क्षण थियो ।”


हुन पनि लर्ड्स मैदानमा क्रिकेट खेल्न जो कोही खेलाडीले अवसर नै पाउँदैनन् । कतिपय खेलाडीको त त्यहाँ छिर्ने सपना पनि पूरा हुँदैन । अझ एसोसिएट राष्ट्र र त्यहाँका खेलाडीका लागि ‘आकाशको फल, आँखा तरी मर’ भनेजस्तै हो ।


नेपाल र ब्रिटेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग लर्ड्समा नेपालले खेल्ने अवसर पाएको हो । लर्ड्समा खेल खेल्ने नेपाल एसोसिएट राष्ट्रको पहिलो टोली हो ।


लर्ड्समा भएको खेललाई शक्ति आफ्नो खेल जीवनकै एक अध्याय मान्छन् । भन्छन्, “नेपाली क्रिकेटमा मेरो १५ वर्ष बितिसकेको छ । लर्ड्समा खेल्ने सपनामात्रै देखेको थिएँ, पूरा भयो ।”


लर्ड्समा खेल्ने थाहा पाएदेखि नै शक्ति निकै उत्साहित थिए । खुलदुली पनि उत्तिकै थियो । “लर्ड्समा मैले निकै ‘इन्जोय’ गरें । कति पनि नर्भस भइनँ । मैदानमा पस्न भने निकै हतार भएको थियो,” उनले सुनाए ।


खेल्ने दिन मौसमले भने निकै सताएको थियो । मौसममा खराबी आएर वर्षा भएको भए नेपाली टोलीको लर्ड्समा खेल्ने सपना अधुरो हुने थियो । तर, मौसमले साथ दियो र नेपाली टोलीले ऐतिहासिक खेल खेल्ने मौका पायो । 

“बिहानैदेखि त्यहाँको मौसम नियालिरहेको थिएँ । तर, भगवान्को कृपाले पानी परेन,” शक्तिले त्यो दिनको स्मरण गरे, “उठ्नेबित्तिकै आज पानी नपरोस् भनेर भगवान शिवलाई गुहारेको थिएँ ।”


खेलपछि उनले मनमै भगवानलाई धन्यवाद दिए ।


आफू बसेको होटलबाट लर्ड्स मैदानमा छिर्दा नै शक्तिलाई विश्व नै जितेको अनुभव भयो रे ! उनले सन् २००४ मा भारतको वर्ली क्रिकेट क्लबबाट खेल्ने क्रममा बेलायत भ्रमणमा जाँदा लर्ड्समा खेल्ने सपना पालेका थिए । बाउन्ड्रीभन्दा बाहिरबाट लर्ड्स मैदान हेर्ने मौका पनि पाएका थिए । त्यसबेला उनलाई यहाँ खेल्न पाउने भाग्यमानी खेलाडी हुन्छु कि हुन्न भन्ने लागेको थियो ।


सन् १९८४ मा जन्मिएका शक्ति ३२ वर्षका भए । नेपाली खेलाडीहरूमा सबैभन्दा पाका बलर हुन् उनी । शक्तिसँगै खेलेका कतिपय खेलाडीहरूले खेलबाट सन्यास लिइसकेका छन् । त्यसैले पनि शक्ति आफूलाई भाग्यमानी ठान्छन् । “नेपाली टोलीमा ‘डेब्यु’ गरेको १५ वर्षपछि लर्ड्समा नेपालको झण्डाका साथ मैदान उत्रिन पाउने भाग्यमानी हुँ म,” गर्वका साथ भन्छन् शक्ति ।


पहिलो विकेट


शक्तिले सोचेका थिएनन्, लर्ड्समा पहिलो विकेट लिने खेलाडी बन्छु भनेर । शक्तिले बलिङ गर्नुअघि दुई बलरले बलिङ गरिसकेका थिए । तर, उनले एमसीसीको विकेट लिए र लर्ड्समा पहिलो विकेट हात पार्ने पहिलो खेलाडी पनि बने । नेपाली खेलाडीले दिएको चुनौती उनीहरूका ब्याट्सम्यानले सजिलै अघि बढाइरहेका थिए । लर्ड्सको पिच स्लो भएकाले त्यो स्पिनरका लागि उपयुक्त थियो ।


पहिलो ओभरमा विकेट लिन नसकेका शक्तिले दोस्रो ओभरमा ओपनर क्लार्कलाई बोल्ड गरेका थिए । विकेट लिएपछि शक्तिले आफ्नो पुरानै शैलीको सेलिब्रेट गरे । क्रिकेटको पवित्र स्थलमा विकेट लिने पहिलो नेपाली बनेको कुरा उनले जुनियर खेलाडीबाट थाहा पाएका थिए । शक्तिका लागि नेपाली टोलीको जित नै सबैभन्दा ठूलो कुरा लागेको छ । त्यो जीतको खुसी उनी शब्दमा व्यक्त गर्नै सक्दैनन् ।


लर्ड्समा खेलिरहँदा शक्तिको दिमागमा अनेकौं कुरा खेले । उनलाई विश्वकपको याद आइरहेको थियो । लर्ड्समा पहिलो विकेट लिने नेपाली खेलाडी बने पनि शक्तिले ब्याटिङ गर्न भने पाएनन् । उनलाई ब्याटिङ गर्ने चाहना पनि थिएन, किनकि आफूले ब्याटिङ गरेको अवस्थामा नेपाली क्रिकेटको कमजोर प्रदर्शन हुने उनी ठान्छन् ।


लर्ड्समा खेल खेलेपछि आफ्नो सपना साकार भएको भन्दै कतिपय खेलाडीले सन्यासको घोषणा पनि गर्छन् । शक्तिले पनि आफ्नो खेल जीवनको एउटा अध्याय सकिएको ठानेका छन् । तर, संन्यासको घोषणा भने गरेनन् । बरु अझै यस्ता ऐतिहासिक दिनको पखाइमा छन् । अझै दुई–चार वर्ष नेपाली क्रिकेटमा जम्ने उनको योजना छ । नेपाली टोलीको बलिङ सम्हाल्ने विचार छ । नयाँ खेलाडीले नेपाललाई धान्न सक्ने भएपछिमात्र संन्यास लिने उनले सुनाए ।


लर्डसमा एमसीसीसँगको मैत्रीपूर्ण खेल नेपालले ४१ रनले जित्यो । सबै खेलाडीको अनुहारमा चमक थियो । त्यो चमक जीतको मात्र थिएन, लर्ड्समा खेल्न पाएको खुसीको पनि थियो ।


साभार : बाह्रखरी


Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’