भिक्षु धावक
काठमाडौं । प्रायः भिक्षुहरु कलेजी वस्त्र
लगाएर धार्मिक ग्रन्थहरुसँग रम्ने गर्छन् । विश्व शान्तिको कामना गर्छन् ।
त्यसको अलावा भिक्षुहरु गुम्बाको रेखदेख, धार्मिक तथा सामाजिक कार्यहरुमा
दिनचर्या बिताउने गर्छन् ।
तर, सिन्धुपाल्चोकस्थित मेलम्चीको ङग्यूर
थेगक्षोग हेसाल किल्गुङ लिङ (जम्दार) गुम्बाका भिक्षुहरु भने केही फरक छन् ।
उनीहरु भिक्षुको परिधिभित्र मात्र सीमित छैनन् । सामाजिक, धार्मिक
कार्यसँगै खेलकुदमा समेत सकृय छन् ।
जम्दार गुम्बाका छुल्ठीम स्याङपो, पाल्देन
लामा, कर्मा वङग्याल, सङ्गे थुप्तेन, केसाङ लामा, सोनाम लामा, सांगे
तेन्जिङ्ग र मिङमार लामाको परिचय एक भिक्षुको मात्र छैन । उनीहरुको परिचय
भिक्षुसँगै धावकको रुपमा समेत जोडिन थालेको छ ।
लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र
धार्मिक स्थल हो । लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा यसै साता
लुम्बिनीमा चौथो संस्करणको ‘लुम्बिनी शान्ति म्याराथन’ सम्पन्न भयो, जसमा
आठ भिक्षुहरु दौडिए । कलेजी वस्त्र निकाल्दै खेलकुद वस्त्र जर्सी पहिरिए,
खेलकुदको माध्यमबाट वुद्धको सन्देश विश्वमा फैलाउन ।
“हामी दौडमा सहभागी हुनुको खास कारण विश्वमा
शान्ति फैलाउन सकुन् भनेर हो,” २१ किमीको हाफ म्याराथन दौडिएका भिक्षु
धावक छुल्ठीम स्याङपोले भने, “भिक्षुहरुले पनि खेल खेल्न सक्छन् र
भिक्षुहरुलाई पनि खेल खेल्न पाउने अधिकार हुन्छ भनेर चिनाउन खेलकुदमा
लागेका हौं ।”
अल्ट्रा दौडमा सहभागिता जनाइसकेका भिक्षुहरु
म्याराथनमा भने पहिलोपटक दौडमा सहभागी भएका हुन् । अधिकांश भिक्षुले
सिन्धुपाल्चोकमै आयोजना हुने बतासे ट्रेल रेसमा भाग लिइसकेका छन् । केही
भिक्षु पहिलोपटक दौडिएका हुन् ।
लुम्बिनी म्याराथनमा तीन भिक्षुले फुल
म्याराथनतर्फ प्रतिस्पर्धा गरे । अन्य पाँच भिक्षुले २१ किमिको हाफ
म्याराथनमा दौडिए । फुल म्याराथनमा पाल्देन लामा, कर्मा वान्गेल लामा र
सङ्गे थुम्तेनले प्रतिस्पर्धा गरेका थिए । यस्तै केसाङ लामा, सोनाम लामा,
छुल्ठीम स्याङबा, सांगे तेन्जिङ्ग, मिङमार लामाले प्रतिस्पर्धा गरे ।
विश्वमा कमै भिक्षुहरु खेलकुदमा लागेका छन् ।
खेलकुदमा लागेका कमै भिक्षुहरुमा नेपाली भिक्षुहरु थपिएका छन् । तर,
उनीहरु एथ्लेटिक्स खेलमा लागेका पहिलो नेपाली भिक्षु खेलाडी भने बनेका छन्
।
भिक्षुहरु विश्वमा शान्ति फैलाउनकै
लागिमात्र खेलकुदमा लागेका हैनन् । शारीरिक र मानसिक रुपमा आफूलाई स्वस्थ
राख्न पनि दौडमा लागेका हुन् । त्यसैले उनीहरु भिक्षुको परिधिमा रहँदै धावक
बन्न चाहन्छन् । अन्य प्रतियोगितामा समेत दौडन चाहन्छन् ।
अल्ट्रा दौडबाट दौड करियर सुरु गरेका भिक्षु
स्याङपो थप्छन्, “हामी अन्य प्रतियोगितामा समेत खेल्न चाहन्छाैं । कुनैपनि
धर्म गर्दा या केही कार्य गर्दा मानिसमा शारीरिक र मानसिक रुपमा फ्रेस
हुनु जरुरी हुन्छ । दौडबाट शारीरिक र मानसिक दबाब हट्ने गरेको छ । त्यसैले
हामी दौडन चाहन्छौं ।”
नेपालका नाम कहलिएका धावकहरु सहभागी
लुम्बिनी म्याराथनमा भिक्षुहरुको प्रदर्शन मध्यम रह्यो । त्रिभुवन आर्मी
क्लबका खेलाडीको वर्चस्व रहेको म्याराथनमा सहभागीमध्ये सबै भिक्षुले दौड
पूरा गरे । सहभागीमध्ये फुल म्याराथनमा सङ्गे १० औं, पाल्देन ११औं र कर्मा
१६ औं स्थानमा रहे । हाफ म्याराथनमा सोनाम १५ औं स्थानमा रहँदा केसाङले १६
औं स्थानमा दौड पूरा गरे ।
भिक्षुहरु अब च्यारिटीको लागिमात्र दौडने
छैनन् । उनीहरु साँच्चै व्यावसायिक खेलाडी, धावक बन्न चाहन्छन् । त्यसैले
दैनिक बिहान पूजापछि अभ्यासमा निस्कन्छन् । तर, दैनिक अभ्यासको लागि
भिक्षुहरुलाई समस्या छ ।
उनीहरुसँग प्रयाप्त खेलकुद सामग्री र टेक्निकल
सपोर्टको अभाव छ । उनीहरुलाई कहिलेकाहिँ दौडको लागि आवश्यक जुत्तासमेत
जोड्न मुश्किल हुन्छ । भिक्षु स्याङपो आह्वान गर्छन्, “हामीलाई सहयोगको
आवश्यकता छ र सहयोगको अपेक्षा गरेको छु । हामीलाई दौड सामग्री र टेक्निकल
सहयोग आवश्यक छ ।”
विश्व शान्तिको दूत गौतम बुद्धको जीवनसँग
गाँसिएको धरोहरमा दौडन पाउन उनीहरुको लागि थप विशेष रह्यो । त्यसैले त
भिक्षुहरु खेलकुदको माध्यमबाट विश्वमा वुद्धको ज्ञान फैलाउन चाहन्छन् ।
“लुम्बिनी हाम्रो पवित्र स्थान, जहाँ दौडनु हाम्रो लागि छुट्टै महत्व छ ।
अन्य स्थानमा भन्दा यहाँ बिशेष हुन्छ,” दौड पूरा गरेपछि २१ किमिका भिक्षु
धावक केसाङ लामाले भने ।
भिक्षुहरुलाई खेलकुदमा भित्र्याउने काम
मिङमार ग्याल्पो लामाले गरेका थिए । मिङमारको समूहले सिन्धुपाल्चोकमा बतासे
ट्रेल रेस आयोजना गर्दै आएको छ । जम्दार गुम्बाका भिक्षुहरु त्यही बतासे
ट्रेल रेसमा पहिलोपटक दौडिएका थिए ।
“विश्व शान्ति र आफ्नो समुदायको लागि
भिक्षुहरु दौडमा सहभागिता भएका हुन्,” ङग्यूर गुम्बाका व्यवस्थापक तथा
प्रशिक्षक मिङ्मार ग्याल्पो लामाले भने । अल्ट्रा दौडमा अभ्यस्त
भिक्षुहरुलाई प्रशिक्षक मिङमारले पहिलो पटक समथर भूमिमा हुने म्याराथन
खेलाएका हुन् ।
शान्तिको भूमि लुम्बिनीको दौडमा भिक्षुलाई
सहभागी गराएर प्रशिक्षण मिङमारले नयाँ प्रयोग गरे । प्रशिक्षक मिङमार
भन्छन्, “खेलकुदको माध्यमबाट बुद्धको सन्देश विश्वभर फैलाउने चाहना छ ।”
तर, बिडम्बना ! विश्वमा शान्तिको कामना
गर्ने भिक्षुहरु दैनिक छाप्रोको गुम्बामा पूजापाठ गर्ने गर्छन् । तीन
बर्षअघि गएको विनासकारी भूकम्पले गुम्बा भत्किँदा धावक भिक्षुहरु छाप्रोको
गुम्बामा ध्यान गर्ने गर्छन् । गुम्बा निर्माण थालिएको छ तर पूर्ण सकिन
केही वर्ष लाग्छ । गुम्बामात्र हैन, सिन्धुपाल्चोक जिल्लाका अधिकांश बस्ती
भूकम्पले तहसनहस गर्यो, जसमा भिक्षुहरुको बस्ती अछुतो रहेन ।
त्यसैले त भिक्षुहरु खेलकुदमा पाएको
पुरस्कार आफ्नो गुम्बा बनाउनमा सहयोग गर्छन् । गुम्बा र खेलकुदबाट बचेको
समय आफ्नो बस्तीको निर्माणमा समय खर्चन्छन् । उनीहरुको चाहना पनि त्यही
हुन्छ । भिक्षुहरु कतिपय स्थानमा श्रमदानको लागि आफैं अघि सर्छन् ।
“हाम्रो गुम्बा भूकम्पले गर्दा भत्किएको छ,” भिक्षु धावक केसाङले थपे,
“हामीले दौडमा जितेको पुरस्कार गुम्बा निर्माणमा खर्च गर्नेछाैं ।”
साभार - बाह्रखरी डटकम
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |